तालाबाङमा बिजुली
रोल्पा, श्रावण १४ - यहाँको सबैभन्दा बढी क्षमताको लघुजलविद्युत् योजनाको निर्माण सम्पन भएको छ। तालाबाङमा निर्माण सम्पन भएको कुजेगार सल्लीमारे माडीखोला तार्केबाङ लघु जलविद्युत् योजनाबाट बत्ती बलेको हो। ९२ किलोवाट क्षमताको योजनाबाट तालाबाङलगायत घर्तीगाउँ, ओत र राँकका उपभोक्ताले बिजुली बाल्न पाएका हुन्। ३ वर्षअघिदेखि निर्माण थालिएको थियो। 'असारमै निर्माण पूरा भई सबैका घरमा बत्ती बलिसकेको छ। तीव्रतासाथ काम भएकाले सबैले बत्ती बाल्न पाएका हुन्,' उपभोक्ता समिति अध्यक्ष श्यामलाल डाँगीले भने।
जिल्लाका धेरै स्थानमा साना जलविद्युत् योजना सञ्चालनमा छन्। तालाबाङमा निर्माण भइरहेको उक्त योजना भने सबैभन्दा ठूलो हो। समिति अध्यक्ष डाँगीले उक्त लघुजलविद्युत् योजना करिब ५ करोडको लगानीमा निर्माण भएको बताए। उनका अनुसार सरकारले लघु जलविद्युत कार्यक्रममार्फत २ करोड ७१ लाख अनुदान दिएको छ भने करिब २ करोड ५० लाख बराबरको श्रमदान स्थानीय आफैंले गरेका हुन्। तालाबाङमा ९ सय ७३ घरधुरी छन्।
उक्त विद्युत् आयोजना निर्माण भएपछि नजिक रहेको घर्तीगाउँ बजारसमेत झिलिमिली बन्ने तयारीमा छ। सरकारले विद्युत् नपुगेकाले घर्तीगाउँमा इलाका प्रशासन कार्यालयलगायतका सरकारी निकाय पुनस्र्थापना गर्न सकेको छैन। घर्तीगाउँ बजारका करिब २ सयमा बिजुली सुविधा पुर्याउने लक्ष्य भएको समितिले जनाएको छ।
दाङदेखि रुकुम पुग्ने सहिद मार्ग छेउमै उक्त योजना निर्माण गरिएकाले उक्त विद्युत् सेवाबाट औद्योगिकीकरणको सम्भावनासमेत रहेको अध्यक्ष डाँगीले बताए। उनले भने, 'सहकारी प्रक्रियाबाट विद्युत् सञ्चालन गरिने भएकाले २४ घन्टा नै यसबाट सुविधा लिन सकिन्छ। खपत गर्ने ठाउँको अभाव हुने देखिएको छ।' उक्त खोलाको माथिल्लो भागबाट बिजुली निकालेर राँकमा उज्यालो बनाउन सभासद अमरसिंह पुनले अर्को लघु विद्युत् योजना सञ्चालन गर्न तयारी थालिएको बताए।
लघु जलविद्युत् योजना सम्पन्न गर्न हरेक घरबाट कम्तीमा १० हजार रकम संकलन गरिएको हो। योजनाका उपभोक्तासमेत रहेका एमाले जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीमगर भन्छन्, 'गाउँमा बिजुली बाल्न गाउँलेहरू निकै उत्साहित छन्। आफैं पैसा जम्मा गर्न पनि तयार भए।' योजनाअनुसार घरघरमा लाइन जोडेर बत्ती बाल्न गाउँलेहरू तयारी अवस्थामा छन्। चाहे जति बत्ती जोडिदिने र थोरै शुल्क निर्धारण गरिने समितिको योजना छ।
'बत्ती बाल्न र स-साना उद्योग चलाउन सकिने अवस्था छ,' उपभोक्ता समिति सचिव ज्ञानबहादुर खड्काले बताए। तालाबाङमा सडक अघि नै सडक पुगिसकेको छ।
समितिका अनुसार योजना पूरा गर्न अहिले करिब ५० लाख ऋण थपिएको छ। कुनै बैंकले सस्तोमा लगानी गरेमा गाउँलेले ऋणबाट जोगिने समितिका अध्यक्ष श्यामलालले बताए।
Source : Ekantipur.com, Kashiram Dangi, प्रकाशित मिति: २०७१ श्रावण १४ १०:५९
IN Talabang, Rolpa.
ReplyDeleteIN Talabang, Rolpa.
ReplyDelete