Headlines News :
Home » » पशुपतिमा लिच्छविकालीन पोखरी भेटियो

पशुपतिमा लिच्छविकालीन पोखरी भेटियो

Written By Unknown on Wednesday, August 20, 2014 | 12:08 AM


काठमाडौ, भाद्र ४ - पशुपतिनाथ क्षेत्रस्थित भण्डारखाल बगैंचामा लिच्छविकालीन पोखरी भेटिएको छ। पुरातत्त्व विभाग, पशुपतिनाथ क्षेत्र विकास कोष र बेलायतको दुर्हम विश्वविद्यालयका विज्ञले तयार पारेको प्रारम्भिक प्रतिवेदनले भेटिएको पोखरी लिच्छविकालीन भएको उल्लेख गरेका छन्। उत्खनन्का क्रममा एक महिनाअघि पोखरी भेटिएको हो।
कोषका कार्यकारी निर्देशक कोषराज अचार्यले भण्डारखालमा उत्खनन् गर्दा भेटिएको प्रमाणहरूको अध्ययन अनुसन्धान गर्दा पोखरी भेटिएको जानकारी दिए। पोखरी २५ मिटर लम्बाइ, करिब १३ मिटर चौडाइ र ९ मिटर गहिरो भएको उनले बताए। थप अध्ययन अनुसन्धान दुर्हम विश्वविद्यालयले गरिरहेको समेत उनले बताए।
उत्खनन्मा चारैतिर इँटाले बनेका पर्खालसमेत भेटिएका छन्। आचार्यका अनुसार फुटेका माटोका भाँडाका टुक्रा पनि पाइएको छ।
तिनलाई ल्याब परीक्षणपछि सार्वजनिक गरिने उनले बताए। पुरातत्त्व विभागका महानिर्देशक भेषराज दाहालले पाँचौं शताब्दीदेखि पशुपतिनाथ मन्दिरको इतिहास देखिएको बताए। टोलीले पाँच वर्षसम्म पशुपतिनाथ मन्दिरको अन्य क्षेत्रमा अनुसन्धान र उत्खनन् गर्ने उनले बताए। 'पाँचवटा स्थान छनोट गरेका छौं,' उनले भने, 'यो अनुसन्धानले हामीलाई उत्साहित बनाएको छ।' पोखरी खन्दा उत्तर लिच्छविकालीन चारवटा अक्षरले लेखिएको शिला भेटिएको भन्दै उनले त्यो पढ्न नसकिएको बताए।
उत्खनन्मा पशुपतिको मुद्रा पनि भेटिएको उनले उल्लेख गरे। सरकारको निमन्त्रणामा आएका दर्हम विश्वविद्यालयका उपकुलपति रोबिन कनिङहमको नेतृत्वमा एक विदेशी, कोषका कार्यकारी निर्देशक कोषप्रसाद आचार्य र नेपाली पुरातत्त्वविद् गरी ६ सदस्यीय टोलीले भण्डारखाल बगैंचाको उत्खनन् गरेको थियो।
कोषका सदस्यसचिव गोविन्द टण्डनले मृगस्थली र कैलाश डाँडा लगातय क्षेत्रमा पनि उत्खनन् गरिने जानकारी दिए।
पशुपतिनाथ मन्दिर परिषद्लाई सभ्यता र संस्कृतिको अध्ययन केन्द्रको रूपमा विकास गर्न पनि थप उत्खनन् गरिने उनले बताए। उत्खनन् क्रममा भेटिएका पुरातात्त्विक सम्पदा ल्याब परीक्षणका लागि बेलायत पठाइएको छ।

Source: http://www.ekantipur.com/np/2071/5/4/full-story/394328.htmlप्रकाशित मिति: २०७१ भाद्र ४ ०८:१७ 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e