Headlines News :
Home » » विद्यालयकै पहलमा २१ अक्षयकोष

विद्यालयकै पहलमा २१ अक्षयकोष

Written By Unknown on Tuesday, August 12, 2014 | 4:23 PM

बुटवल, श्रावण २७ - गौतम रिजाललाई बाबुआमाको स्मृतिमा केही गर्ने इच्छा थियो। के गर्ने भन्ने निक्र्योल गर्न सकेका चाहिँ थिएनन्। यहाँको कालिका उमाविले विद्यालयका गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिने प्रस्ताव गर्‍यो। उनलाई चित्त बुझ्यो।
लोकानन्द सरिता स्मृति अक्षयकोष नाममा १ लाख रुपैयाँ दिए। यसको ब्याजबाट प्रत्येक वर्ष कक्षा ९ र १० मा छनोट भएका विपन्न २ विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ।
किरण तथा मञ्जु श्रेष्ठले आफ्ना छोरा डा. प्रज्ज्वल श्रेष्ठलाई अल्पायुमा गुमाए। उनीहरूलाई विद्यालयले छोराको नाममा अक्षयकोष राखेर विद्यार्थीलाई पुरस्कृत गर्न प्रस्ताव गर्‍यो। प्रस्ताव अनुसार १ लाख १ हजार १ सय ११ रुपैयाँको डा.प्रज्ज्वल श्रेष्ठ स्मृति अक्षयकोष खोलियो। यसकोे ब्याजले कक्षा ११ र १२ मा प्रथम हुने १/१ विद्यार्थी पुरस्कृत हुन्छन्। कालिका उमाविमा मृतक आफन्तको सम्झना र आफ्नै नामका लागि समाजसेवी भावले खोलिएका २१ अक्षयकोष छन्।
ती २५ हजारदेखि १ लाख ३६ हजार रुपैयाँ सम्मका छन्। अक्षयकोषमा करिब साढे १४ लाख रुपैयाँ जम्मा भएको छ। बर्सेनि ब्याजबाट करिब ३ दर्जन विद्यार्थी पुरस्कृत हुन्छन्। विधा भने छुट्टाछुट्टै छन्। विद्यालयले अक्षयकर्ताको इच्छाअनुसारका कोष खोलिदिन्छ। उनीहरूको प्रस्ताव अनुसार शीर्षकमा खर्च गर्ने गरिएको लेखापाल भीमबहादुर थापाले बताए।
समाजसेवी तथा कालिका उमाविका भूपू अध्यक्ष शेरबहादुर गुरुङको रुचि साहित्यमा छ। आफ्नै नामबाट १ लाख ३ हजार ३ सय ३ रुपैयाँको शेरबहादुर गुरुङ अक्षयकोष खोले। कालिकाले प्रत्येक वर्ष गर्ने जिल्लास्तरीय कविता प्रतियोगिताका उत्कृष्ट विद्यार्थी यसैबाट पुरस्कृत हुन्छन्।
श्यामराज पौडेलले स्वर्गीय छोराका नामबाट २ वटा अक्षयकोष खोले। १ लाख रकमको अरुण पौडेल स्मृति कोषबाट प्रत्येक वर्ष विद्यालयमा आयोजित म्याराथन दौड प्रतियोगितामा उत्कृष्टले पुरस्कार पाउँछन्। अर्को ५० हजारको ब्याजबाट उत्कृष्ट सञ्चारकर्मीले पुरस्कार पाउँछन्। उत्कृष्ट शिक्षक पुरस्कृत गर्न भूपू शिक्षकले १ लाख ३६ हजार र गिरिराज ज्ञवालीले २५ हजारको कोष बनाएका छन्। कक्षाकोठा मर्मतसम्भारका लागि व्यवसायी देवेन्द्र धोंजूले १ लाखको सपना अक्षयकोष सञ्चालन गरेका छन्।
विद्यालयका प्राध्यापक घनश्याम पाठक विपन्नलाई आर्थिक सहयोग जुटाएर पढाइप्रति प्रोत्साहित गर्न अभियान थालेको र सुखद परिणाम दिएको बताउँछन्। उनका अनुसार सामुदायिक विपन्न धेरै विद्यार्थीलाई राज्यले दिने छात्रवृत्तिले नसमेटेपछि यस्तो अभियान सुरु गरिएको हो।
सुरुमा गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका लागि खोलिएका कोषको संख्या बढदै गएपछि प्रावि, निमावि, मावि र उमावि तहका पढाइमा उत्कृष्ट विद्यार्थी र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गर्न थालेको उनले बताए।
अक्षयकोषका कारण धेरै विपन्न विद्यार्थीलाई सहयोग गर्न जेहेन्दारलाई पुरस्कृत गर्न, पढाइमा टिकाउन र प्रोत्साहित गर्न सकेको उनले बताए।
विपन्न विद्यार्थीलाई सहयोग जुटाउन विद्यालयले व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यलाई समेत २ जना बालबालिकाको पढाइ खर्च बेहोर्ने नीति बनाएको छ।
यसबाट १६ विद्यार्थीले वर्षभरको मासिक शुल्कलगायत शैक्षिक सामग्री पाएको लेखापाल थापाले बताए। वि.सं. २०१८ सालमा स्थापित यो उच्चमाविमा मावि तहसम्म १ हजार ३ सय ६७ जना र उच्चमावि तहमा ९ सय ६ जना विद्यार्थी अध्ययनरत छन्।
Source:http://www.ekantipur.com/np/2071/4/27/fullstory/393864.htmlप्रकाशित मिति: २०७१ श्रावण २७ १०:०१ 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e